चितवन : कमिसन चक्करमा हत्या प्रयास !


 



हतियार झोलाभरि बोकेर एउटी महिलाको हत्या योजना बनाइ दुई युवाहरु बालकुमारी कलेजको नर्सिङ भवनतर्फ लागे । उनीहरुको निशानामा थिइन्, रत्ननगर–३ की लक्ष्मी गिरी ।

 




कलेजकी सिएमए रहेकी गिरी होस्टल सञ्चालकसमेत रहेको र उनीसँग होस्टलमा विद्यार्थी राखेबापत कमिसनको विषयमा दुई युवाले प्रस्ताव राखेका थिए । जुन प्रस्ताव गिरीले अस्वीकार गरेकी थिइन् ।

 

आर्थिक लाभ लिने लोभमा मान्छेको ज्यानै लिनेसम्मको योजना बनाएका खैरहनी नगरपालिका वडा नं–२, लदरी घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं–११ बस्ने वर्ष २७ को डल्ले भन्ने विशाल खनाल आरोपित हुन् । भरतपुर–११, नौरङ्गे बस्ने वर्ष ३२ को शिव क्षेत्री अर्का आरोपित हुन्, जो पक्राउ परे । तर, विशाल फरार छन् ।

 

उनीहरुको साथमा रहेको र लुटपाटका लागि प्रयोग गरिएका हतियारहरु प्रहरीले शिवको साथबाट नियन्त्रणमा लियोे । विशाल श्री मेडिकल कलेजको विद्यार्थी रहेको खुलेको छ । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले आर्थिक प्रलोभनका कारण उक्त घटना भएको बताए ।

 

बालकुमारी कलेजको भरतपुर–३, नगर वनस्थित नर्सिङ कलेजको कम्पाउन्डभित्र जबर्जस्ती प्रवेश गरी भीमबहादुर थिङ (५३) लाई रड, खुकुरी र मोटरसाइकलको सक्कर फलामे पाइपसमेतले शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । बेहोस भएर भुइँमा ढलेका भीम बोल्न खोजेपछि उनीहरुले थप कुटेर म¥यो भनी शौचालयमा लगेर फालिदिएका थिए ।

 

त्यसपछि उनीहरु लक्ष्मी गिरी (४४) रहेको दोस्रो तलामा पुगे, जहाँ गिरी एक्लै थिइन् । नक्कली पेस्तोल कन्चटमा ताकेर फलामे वस्तुले पटकपटक हानेपछि गिरी ढलेकी थिइन् । गिरी पनि मरी भनी उनीसँग भएका गहना र मोबाइल लुटेर उनीहरु भागे ।

 

भाग्ने क्रममा बाटोमा १६ वर्षका एक किशोरले घटना देखेको चाल पाए । अनि, ती किशोरलाई पनि धारिलो हतियारले हानेर उनीहरु भागे । ती किशोर थिए भरतपुुर–३ का सौगात बोटे । मान्छेहरु जम्मा हुन थालेपछि मोटरसाइकल छाडेर अरु कसैको स्कुटर लिएर उनीहरु भागे ।

 

घाइते लक्ष्मी गिरीको साथबाट ३ तोलाको सुनको ब्रास्लेट, डेढ तोलाको लकेट, सुनको औँठी २ थान र आइफोन १२ प्रो म्याक्स थानसमेत लुटिएको थियो । पैसा कमाउनका लागि आपराधिक गतिविधिमा लागेका उनीहरुमध्ये शिव पुर्पक्षका लागि थुनामा गएका छन् ।

 

चितवन अदालतको मंगलबारको आदेशले उनी थुनामा गएका हुन् । घटनामा लुटिएको सुन किनेको आरोप लागेका राजु विक भने ३ लाख धरौटी माग भएकोमा तिर्न नसकी कारागार चलान भएका छन् । उपचार गरिएका तीन जना घाइते उपचारपछि घर फर्किसकेका प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए ।

 



सम्बन्धित
Loading...