चितवनमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण

चितवनको भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण भएको छ । भरतपुर महानगरपालिका ८ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो ।
नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा आउने बताईएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार नै ट्रायल सेन्टर निर्माण गरिएको सञ्चालक डम्बर थापाले बताउनुभयोे ।
भौतिक संरचना निर्माणमा प्राविधिक दृष्टिकोणले गुणस्तरियतामा ध्यान दिईएको उहाँको भनाई छ ।दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर नेपालकै ठूलो र सुविधासम्पन्न भएको थापाले जानकारी दिनुभयो । बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।
ट्रायल सेन्टरमा दैनिक १२ घण्टामा एक हजार जनालाई सवारी प्रशिक्षण दिन सकिने उहाँले बताउनुभयो। आवश्यकता अनुसार २४ सै घण्टा पनि प्रशिक्षण दिन समेत सकिने उहाँको भर्ना छ । यस्तै यातायात व्यव्स्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि लिने लिखित तथा प्रयोगात्मक परीक्षाका लागि दैनिक एक हजार पाँच सय जनालाई सहभागी गराउन सकिने छ ।
सवारी प्रशिक्षणका लागि ट्रायल सेन्टरमा १५ वटा जीप तथा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटरलगायतका आवश्यकता अनुसारको साधनहरु सहज उपलब्ध छन् ।
नवनिर्मित ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्याक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उहाँले जानकारी दिनुभयो ।