पृथ्वीराजमार्गको आँबुखैरेनी सडक खण्ड शनिबार बिहान ६ बजेसम्म बन्द




पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड शुक्रबार बेलुका ७ बजेदेखि बन्द गरिएको छ ।

आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।




बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।

डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् ।

“ रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।”

यसैबीच, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए ।

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए । अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस



सम्बन्धित
Loading...