बाघलाई नियन्त्रणमा नलिँदासम्म शव लैजान नदिने भन्दै स्थानीयले गरे विरोध
नरभक्षी बाघलाई
नियन्त्रणमा लिन माग गर्दै चितवनको मेघौलीका बासिन्दाले मृतकको शव उठाउन दिएका छैनन्।बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए। मृतकको शव वनबाट बाहिर निकालिएको छ।
प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका छन्। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिने बताएका छन्। ‘आज मान्छे खाएको बाघलाई यसै छाडियो भने यसले हामी सबैलाई सक्छ,’
स्थानीय नारायण भुर्तेलले भने, ‘हामी यो बाघलाई नियन्त्रणमा नलिँदासम्म शव बुझ्दैनौं।’चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ। केही दिन अघिमात्रै बाघको आक्रमणबाट भरतपुर-२३ र राप्ती नगरपालिकामा १/१ जना घाइते भएका थिए।