नवलपुर महोत्सवमा राष्ट्रिय स्तरको कौराहा प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार


रामकुमार श्रेष्ठ —


नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा नेपाल मगर संघ नवलपुरले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रिय स्तरको कौराहा नाच प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको छ भने द्वितीय हुनेलाई ६० हजार र तृतीय हुनलाई ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।



प्रतियोगितामा नवलपुर सहित तनहु, पाल्पा, लगायत मगर समुदायको बाहुल्यता रहेको क्षेत्रहरुबाट कम्तिमा ११ समूहको सहभागिता रहने नेपाल मगर संघ नवलपुरका उपाध्यक्ष देव गाहा मगरले बताए ।
११ दिनसम्म चल्ने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै लोक दोहोरी समेत प्रदर्शन हुने कार्यक्रम रहेको छ ।

मंसिर १ गतेदेखि ११ गतेसम्म चल्ने प्रथम नवलपुर मगर सांस्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सवमा १ दिन एउटा कौराहा समूहले प्रतियोगितामा भाग लिने जनाइएको छ ।

महोत्सवको मंसिर १ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा १ सय स्टलहरु राखिएको छ भने बाल उद्यन, नवलपुरमा रहेका १० वटा जातीय संगठनका सस्कृतिहरु झल्कने स्टल आदि रहने नेपाल मगर संघ नवलपुरका अध्यक्ष भुमराई मगरले जनाए ।


सम्बन्धित
Loading...