कृषि गर्न चाहने भूमिहीनहरुलाई मध्यविन्दु नगरपालिकाले जग्गा उपलब्ध गराउने
प्रिय धन — ९ मंसिर २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले नगरभित्रका भूमिहीनहरुका लागि जग्गा उपलब्ध गराउने बताउनुभएको छ । आज रेशम फिरिरी नेपाल संस्थाद्वारा आयोजित वनभोज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कृषि गर्ने चाहना भएका तर कत्ति पनि जमिन नभएका मध्यविन्दु नगरपालिकाभित्रका कृषकहरुलाई आफुहरुले निश्चित मापदण्ड निर्माण गरेर प्रतिघर कम्तिमा पनि ५,६ कठ्ठाका दरले खेतीयोग्य जमिन उपलब्ध गराउने बताउनुभएको हो । साथै उहाँले शिक्षाको विकास बिना सुखी र समृद्ध समाजको परिकल्पना असम्भव प्रायस् भएकाले आफुहरुले शिक्षाको क्षेत्रमा पनि आमुल परिवर्तन आउने गरी योजना अगाडी बढ़ाएको समेत बताउनुभयो ।
यस्तै रेशम फिरिरी नेपालको कार्यक्रममा नगरभित्रका बिभिन्न वडाका जनप्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधि सहित बिभिन्न विद्यालयका शिक्षक , रेशम फिरिरी फ्रान्सका प्रतिनिधिहरु , विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा धन्यवाद दिंदै रेशम फिरिरी नेपालका अध्यक्ष दिपक पंगेनीले आफुहरुलाई विश्वास गरेकोप्रति अभिभावकहरुलाई आभार व्यक्त गर्नुभएको थियो ।
समाज विकासको आधारशीला नै शिक्षा भएकाले शिक्षाको क्षेत्रमा लगानी गरेको समेत पंगेनीले प्रष्ट पार्नुभयो । २०६८ सालदेखि नेपालको मध्यविन्दु नगरपालिकामा स्थापित भई हाल करिब ४८ वटा विद्यालयमा करिब ५०० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको पनि अध्यक्ष पंगेनीले बताउनुभयो ।