मध्यविन्दु नगरपालिकाद्वारा ९० घर सुकुम्बासीलाई निशुल्क जग्गाधनि लालपूर्जा वितरण


रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले मध्यविन्दु १ सेतापानीमा रहेका ९० घर सुकुम्बासीहरुलाई आज निशुल्क जग्गाधनी लालपूर्जा वितरण गरेको छ ।


यहाँ रहेका दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु मध्ये पहिलो चरणमा ३४ जना दलित सुकुम्बासी र ५६ जना भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताए ।

आज मध्यविन्दु १ सेतापानीमा लालपूर्जा वितरण कार्यक्रम नै राखेर नगरपालिकाले सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गरेको हो ।



लालपूर्जा वितरण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, नवलपुर क्षेत्र नं. २ का सांसद विष्णु कार्की, प्रदेश सांसद पदमा जिसी श्रेष्ठ, पूर्व प्रदेश सांसद जनकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल लगायतको सहभागितामा लालपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा गुरुङले लामो समयदेखि रोकिएर बसेको भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्य शुरु भएको भन्दै अब नेपालमा सबै भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गर्ने बताए ।

कार्यक्रममा सांसद विष्णु कार्कीले लामो समेतदेखि भूमि अधिकारबाट बञ्चित रहेको भूमिहिन सुकुम्बासलाई लालपूर्जा दिलाउने राज्यको दायित्व भएको बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले नवलपुरमा असार साउन सम्ममा १३ हजार बढी लालपूर्जा वितरण गरिने गरी आयोगले काम फत्ते गरेको बताए ।

त्यसैगरी मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आफूले चुनावमा गरेको बाचा अनुसार भूमिहिन सुकुम्बासीहरुलाई लालपूर्जा दिने पहिलो प्रथामिकतामा राखेर आफूले काम गरेको बताए ।


सम्बन्धित
Loading...