गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो
गाजा । इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकुहरूले अक्टोबर ७ मा इजराइलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।
इजराइली सेनाले गाजाको सबैभन्दा ठुलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टा पछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।
“इजराइली सेनाले गरेको कारबाहीमा विगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,” गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताए । -(रासस/एएफपी)