नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता बालकको शव फेला





भरतपुर । पौडी खेल्नेक्रममा बेपत्ता भएका एक बालकको शव भरतपुर महानगरपालिका वडा नं–२७, सिसवारस्थित नारायणी नदीमा फेला परेको छ ।

नारायणी नदीमा घोप्टो परेको अवस्थामा शव भेटिएको खबर प्राप्त भएपश्चात प्रहरी टोलीले शवको मुचुल्का गरी निजका आमाबाट सनाखत गरिएको प्रहरीले जनाएको छ ।


चैत २३ गते दिउँसो १ः०० बजेको समयमा पाँच जना साथीहरुसँगै भरतपुर–१६, सानोगढीस्थित नारायणी नदीमा पौडी खेल्नेक्रममा भरतपुर–१५ बस्ने १२ वर्षीय सौगात तामाङ डुबेर बेपत्ता भएका थिए ।

बालक डुबेर बेपत्ता भएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट विपद्सहितको प्रहरी टोलीले खोजी कार्य गरेको थियो ।

त्यसैगरी नवलपुरको गैँडाकोटबाट हराइरहेका एक बालक नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ५ आदर्श चोकबाट हराएका १३ बर्षिय अस्विन बस्याल नारायणी नदीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

एल्लो हाउस होटल भन्दा ठीक तलपट्टी नारायणी नदीमा बालकको शव फेला परेको हो । नदीमा नुहाउन गएका बखत बालक नदीमा डुबेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । आज विहान ८ वजे बालकको शव भेटिएको र पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनले लगाएको कपडा हिजो साँझ नारायणी नदी किनारमा फेला परे पनि बालक भने फेला परेको थिएन ।

अस्विन चैत्र २३ गते दिउसो ३ वजेदेखि हराइरहेका थिए । परिवार र आफन्तजन उनको खोजिमा जुटेका थिए ।

बर्दघाटबाट बसाइसराइ गरि गैँडाकोट आएका अस्विन दुई दिदिहरुसँगै कोठा लिएर भाडामा बस्दै आएका थिए । अस्विनका बुवाआमा रोजगारीको शिलशिलामा दुवईमा रहेका छन् ।



सम्बन्धित
Loading...