कार्यालय सुनसान गराएर कावासोती नगरपालिकाका पदाधिकारी र कर्मचारीहरु एनजिओको भ्रमणमा



नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका विगत ३ दिनदेखि सुनसान छ । नगर प्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल सहित ५ जना कर्मचारीहरुको टोली कार्यालयमा नहुँदा कार्यालय सुनसान भएको हो ।

उनीहरु पाँच दिनको छुट्टिमा रहेका छन् । कावासोती नगरपालिकाका सूचना अधिकारी मुक्तिराम बसेलले पाँच जना कर्मचारीहरु छुट्टीमा रहेको पुष्टि गरे । उनले भने – कार्यालय बन्द छैन । कार्यालय आएका सेवाग्राहीहरुलाई कार्यालयमा रहेका अन्य कर्मचारीहरुले दिन मिल्ने सेवा दिएर प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख वा उपप्रमुख आएपछि दिन पर्ने काम थाति राखेर काम गरिएको छ ।



सूचना अधिकारी मुक्तिराम बसेलले कार्यालय खुल्ला रहेको बताए पनि कार्यालयमा आएका सेवाग्राहीहरु भने कार्यालयमा भेटिनु पर्ने पदाधिकारी र कर्मचारीहरु नभेटेर त्यसै फर्किने गरेका छन् ।

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरु सहितको टोली हेकोडेफ नेपालको आयोजनामा भएको ५ दिने अवलोकन भ्रमणमा पूर्वी नेपाल गएका छन् ।

एक जना सेवाग्राही श्याम कुमालले भने – त्यसै पनि नगरपालिकामा आफ्नो काम परेर गएको बेला नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुलाई भेट्नै धौधौ हुन्छ । अहिले झन विदानै लिएर गएपछि कस्को के लाग्यो र ।

विदा लिएर भ्रमण गएका बाहेक अन्य कर्मचारीहरु पनि अहिले कार्यालयमा नियमित छैनन् । कोही तालिममा गएका छन् भने कोही खाजा खाने समय भन्दा बाहेकका समयमा पनि चिया पसलहरुमा छिर्ने र चिया, चुरोट खाँदै गफिएर दिन विताउने गरेका छन् ।

अर्का सेवाग्राही इन्द्रबहादुर विक भन्छन् – कार्यालयमा कर्मचारी नभेटिए चिया पसल तिर खोज्न जानु पर्छ । त्यही गफिएर बसेका हुन्छन् ।

नगरप्रमुख उपप्रमुखले कार्यालयमा भन्दा कार्यक्रममा बढी समय दिने गरेका कारण कार्यालयमा नगरप्रमुख उपप्रमुखलाई भेट्नै गाह्रो हुने गरेको सेवाग्राहीहरुले गुनासो गरे ।


सम्बन्धित
Loading...