उपचारको ११ लाख ७० हजार तिर्न नसक्दा महिलाको शव तीन दिनदेखि अस्पतालमै




उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले दलित महिलाको शव तीन दिनदेखि बन्धक बनाएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको थियो ।

उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन नदिएको हो ।



मृतकका श्रीमान् उमेश रामका अनुसार अस्पतालको १२ लाख ६९ हजारमध्ये तीन लाख ७४ हजार तिरे पनि आठ लाख ९५ हजार तिर्न बाँकी छ । त्यस्तै, फार्मेसीको आठ लाखमध्ये पाँच लाख २५ हजार बुझाएकोमा दुई लाख ७५ हजार तिर्न बाँकी नै छ । घरछेउकै एक कट्ठा जग्गा तीन लाखमा बेचेर तथा साहुकारबाट ३६ प्रतिशत ब्याजदरमा पाँच लाख ऋण लिएर अस्पताल र फार्मेसीलाई पैसा तिरे पनि बाँकी पैसा जोहो गर्न नसकेको उमेशले बताए ।

‘भएको सम्पत्ति उपचारमै सकियो, जग्गा बेचेर र ऋण–धन गरेर आठ लाख ९९ हजार बुझाइयो, बाँकी तिर्न सकिएको छैन,’ उनले भने, ‘पैसा आउने ठाउँ छैन, अस्पताल र फार्मेसी दुवैले पहिले उपचारको सबै पैसा बुझाऊ अनि मात्र शव दिन्छौँ भन्दै छन् । उता घरमा सबै शव आउने आशामा बसेका छन् ।’

५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका– १ मा ठक्कर दिएपछि श्यामकुमारी घाइते भएकी थिइन् । उनलाई सुरुमा बोदेबरसाइनमा रहेको सत्रुधन अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सोही दिन विराट नर्सिङ होममा लगिएको थियो । तर, उपचारको क्रममा गत बिहीबार निधन भएको थियो ।

विराट नर्सिङ होमका प्रशासन अधिकृत केदार पोखरेलले उपचारका क्रममा लागेकोे खर्च नबुझाएसम्म शव पठाउन नसकिने बताए ।


सम्बन्धित
Loading...