पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक रहेको शव ल्याउन दबाब अभियान





उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक रहेको शव ल्याउन बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा एक टोली विराटनगर प्रस्थान गरेको छ।

सोमबार साँझ पालिका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीय करिव एक सय पालिकावासी विराटनगर अस्पतालतर्फ लागेका हुन् ।


पालिका अध्यक्ष यादवले त्यहाँ गएर अस्पताल प्रशासनसँग दाह संस्कारको लागि शव दिन आग्रह गर्ने बताए । त्यसमा अस्पाताल तयार नभए त्यहीँ सबैजना धर्नामा बस्ने उनले जानकारी दिए ।

’स्वास्थ्य मानवको नौसर्गिक अधिकार हो, पैसा नभए पनि मान्छेलाई उपचार पाउने हक संविधानले सुनिश्चित गरेको छ, यसको रक्षा हुनुपर्छ,’ उनले भने, ’हामी त्यहाँ गएर अस्पाताल प्रशासनसँग सौहार्दपूर्ण रुपले शव माग्छौँ, नदिए त्यहाँका प्रशासनलाई शव दिलाउन आग्रह गर्छौँ, त्यसमा पनि नमाने हामी त्यही धर्नामा बस्छौँ, शव लिएरै आउँछौँ।’

उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होम अस्पातालले सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको शव तीन दिनदेखि बन्धक बनाएको छ।

गत बिहीबार (३ जेठ) उपचारका क्रममा ज्यान गएको थियो। उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन दिएको छैन।




सम्बन्धित
Loading...