नवलपुरमा दाउरा काट्न जंगल गएका श्रीमानको मृत्यु, श्रीमती घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबासमा दाउरा काट्न जंगल गएका श्रीमान श्रीमती मध्ये श्रीमान मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको विनयी त्रिवेणी २ सिजी बस्ने ७९ बर्षीय नरबहादुर ठकुरी मृत फेला परेका हुन् भने उनकै श्रीमती ६८ बर्षीया विष्णुमाया ठकुरी घाइते अवस्थामा फेला परेको हो ।
आज विहान खाना खाएर दाउरा काट्न जंगल गएका दम्पती राति अबेरसम्म फिर्ता नआएपछि खोजतलास गर्ने क्रममा घरदेखि ८ सय मिटर पर मनकामना सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ ।
श्रीमान् नरबहादुर ठकुरी मृत अवस्थमा भेटिएको र श्रीमती घाइते अवस्थामा भेटिएको मृतककी छोरी पुष्पा पाख्रिनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
श्रीमान घोप्टो अवस्थामा मृत फेला परेको र श्रीमती विष्णु मायाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगिएको र घटना स्थलमा प्रहरीले सुरक्षा दिएर राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आज रात परेकोले घटना स्थल सुरक्षित राखिएको र घटना बारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।