पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताए ।
अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् । यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन्, त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् ।
आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्र्रहालयमा रहेको अध्यक्ष महतोले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् । थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताए । ‘यहाँ आएपछि थारू समुदायका रहनसहन कस्तो हुन्छ, पहिरन के हुन्छन्, घरमा के कस्ता सामग्री हुन्छन्, सबै अवलोकन गर्न पाइन्छ, यस कारण पर्यटक यहाँ आउने क्रम बढेको छ’, उनले भने ।
विसं २०६६ मा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ । सुरुमा यहाँ निःशुल्क प्रवेशको व्यवस्था थियो । पछिल्लो छ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु २५ र विदेशीका लागि प्रतिव्यक्ति रु १०० शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि शुल्क लिने गरिएको समितिले जनाएको छ ।