बाघखोर युवा क्लवको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने
प्रकाश रेग्मी –
चोरमारा । बाघखोर युवा क्लवको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
मध्यविन्दु नगरपालिका र जागृति बाल तथा युवा सरोकार क्यान्नालनको सहयोगमा शिविर संचालन गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएइको थियो ।
पत्रकार सम्मेलनमा बाघखोर युवा क्लवका अध्यक्ष दिपक अर्यालले पछिल्लो समयमा कृषकहरुमा धेरै मुनाफा कमाउने महत्वाकांक्षा बढेसंगै नसर्ने रोग क्यान्सरको जोखिम पनि बढेको भन्दै पहिचानका लागि पनि यो शिविरले महत्व राख्ने विश्वास व्यक्त गरे ।
विशेषगरी मध्यविन्दु ४, ५ र ६ का नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको क्यान्सर पहिचान शिविरमा अन्य क्षेत्रमा व्यक्तिले पनि परीक्षण गराई लाभ लिन सकिने बताइएको छ ।
छिमेकी गाउँपालिका हुप्सेकोटमा किसानमा यो समस्या भएको भन्दै मध्यविन्दु नगरपालिकाका किसानलाई पनि यस स्वास्थ्य शिविरले सचेत गराउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अर्यालले बताए ।
शिविर चैत्र २३ गते शनिबार मध्यविन्दु ५ मा रहेको विन्देश्वरी आधारभूत विद्यालयको प्राङगणमा विहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने छ ।
शिविरमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका हाड जोर्नी नशा तथा क्यान्सर रोग विशेषज्ञ अरुण सिग्देल, स्तन क्यान्सर विषेशज्ञ बुद्धिराम पौडेल, सर्जन अनुप भट्टचन, फिजिसियन कुमार श्रेष्ठ सहितको टोली आउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यस्तै पत्रकार सम्मेलन कार्यक्रममार्फत बाघखोर युवा क्लवका पूर्व अध्यक्ष आदेश ज्ञवालीले यस अघि पनि क्लवले सामाजिक, जनमुखी कार्यक्रम आयोजना गरेको भन्दै आम जनताको स्वास्थ्यको विषयमा अहिले गर्न लागेको शिविरबाट फाइदा उठाउन आग्रह गरे ।
उनले विन्देश्वरी आधारभूत विद्यालयमा निजि स्रोत शिक्षक राखेको, खेल सप्ताह कार्यक्रम आयोजना गरेको, खेलमैदानका लागि सुरुवात गरेको लगायतका कामको स्मरण गर्दै यो स्वास्थ्य शिविर आयोजना गरेकोमा खुसी लागेको बताए ।
यसैगरी मध्यविन्दु ५ का वडा अध्यक्ष गणेश पाठकले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुहुँदै आफ्नो तर्फबाट भरपुर साथ र सहयोग रहने पनि प्रतिवद्दता व्यक्त गरे ।
मध्यविन्दु ५ को वडा कार्यालयमा भएको पत्रकार सम्मेलनको औपचारिक कार्यक्रमको संचालन भने क्लवका सचिव राजु पुरीले गरेका थिए ।