सौराहामा जीप दुर्घटना : आठ जना पर्यटक घाइते
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका स्वदेशी पर्यटक बोकेको जीप दुर्घटना हुँदा आज आठ जना घाइते भएका हुन् ।
जीप दुर्घटनामा परी नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक घाइते भएका हुन् । सौराहाबाट कुमरोज सामुदायिक वनमा सफारीका लागि जाने क्रममा ना ४ च ३३५५ नम्बरको जीप सौराहा स्थित नमुना सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी लम्जुङ घर भएका विष्णु तामाङ, मनोज तामाङ, अर्जुन घले, लुलबहादुर घले, अनिलकुमार गुरुङ, मोतिजंग गुङरु, जीवनमाया ओली र संगिता सेढाई घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई सौराहाको राज मेडिकल हलमा प्राथमिक उपचारपछि थप उपचारको लागि मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
पर्यटक बोलेको बस तीब्र गतिका कारण दुर्घटनामा परेको हो । चालकको लापरबाहीका कारण नमुना सडकमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । नेचर गाइड एशोसियसन सौराहामा पूर्व अध्यक्ष अनिल कुमार गुरुङले धेरै कमाउने लालचले सौराहामा पर्यटक बोक्ने जीपहरु तीव्र गतिमा कुदाउने गरिएको भन्दै स्थानीय सरकारले यसलाई नियन्त्रण गनुपर्ने बताए । उनले सौराहाको जीप सफारीको बेतिथि बुँदागत रुपमा औत्याएका छन् ।
मापदण्ड विपरितको सवारी, असुक्षित सिट कायम, क्षमताभार भन्दा बढी सवारी, लागु पदार्थ सेवन अति द्रुतगति, गाईड र ड्राईभरको समन्वय शुन्य, अर्धदक्षता, असुरक्षित,अमर्यादित पर्या पर्यटन, घण्टे सफारी, धेरै कमाउने लालच, अत्याधिक फोनमा ब्यस्त सौराहाको जीप सफारीको बेतिथि रहेको उनले बताए ।