गैडाकोटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोटमा गएराति भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।
नवलपुरको गैडाकोट नगरपालिका ८ जयश्री पुल नजिकै भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गोरखाबाट सुर्खेततर्फ जाँदै गरेको बा ३ च ७९८ नम्बरको कार सडक छेउमा रहेको गिटिको थुप्रोमा चढ्न जाँदा कारमा सवार ३ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी कार चालक गोरखा जिल्लाको सहिदलखन गाउँपालिका ७ निवासी ५१ बर्षीय एकलाल श्रेष्ठ, गोरखा नगरपालिका ११ निवासी ६८ बर्षीय गंगालाल श्रेष्ठ र ५५ बर्षीया बिमला श्रेष्ठ घाइते भएका हुन् ।
उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।
त्यसैगरी गएराति गैडाकोट ९ दक्षिणकाली पेट्रोल पम्प अगाडि मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा गैडाकोट ९ निवासी ४८ बर्षीय कृष्णप्रसाद सापकोटा घाइते भएका छन् ।
प्र.३–०२–०१३ प ६८१२ नम्बरको माटेरसाइकलले बाटो काट्दै गरेको पैदल यात्री सापकोटालाई ठक्कर दिदा दिएको हो । उनको गैडाकोट पोलीक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।