नवलपुरमा व्यापक आचारसंहिता उल्लंघन, गर्दैनन कसैले पनि उजुरी

रामकुमार श्रेष्ठ –
नवलपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिंदै गर्दा नवलपुरका साना ठूला राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारमा व्यापक आचारसंहिता उल्लंघन गर्ने गरेको पाइएको छ ।
ठूला ठूला आवाजमा ध्वनी प्रदुर्षण हुने गरी बाजागाजा (माइक) बजाएर हिड्नेदेखि निर्वाचन चिन्हको भौतिक स्वरुप नै बोकेर हिड्ने सम्म गरेको पाइएको छ । त्यसैगरी नवलपुरका निर्वाचित जनप्रतिनिधिहरु पनि आफ्नै निर्वाचन क्षेत्रमा खुलम खुल्ला मत माग्दै हिड्ने गरेको पाइएको हो ।
मंगलबार जिल्ला निर्वाचन कार्यालय नवलपुरको आयोजनामा कावासोतीमा भएको पत्रकारसँग निर्वाचन आचारसंहिता पालनाका विषयमा भएको छलफलमा पत्रकारहरुले यस्तो बताएका हुन् ।
निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र अनुगमन समितिहरु यस विषयमा मुकदर्शक बनेर बसेको पत्रकारहरुले उल्लेख गरेका थिए । कार्यक्रममा पत्रकार रामकुमार श्रेष्ठले निर्वाचन आचारसंहिता पत्रकारले मात्रै पालना गर्नु पर्ने जस्तो गरी पत्रकार तथा सञ्चारमाध्यमलाई मात्र अनुगमन र निगरानी गर्ने गरेको तर उम्मेदवार, जनप्रतिनिधि र दलहरुले भने निर्वाचन आचारसंहिता पालना नगरे पनि सम्बन्धित निकायले कुनै कारवाही गर्ने वा सचेत गर्ने नगरेको पाइएको बताए ।
त्यसैगरी कार्यक्रममा पत्रकार खगेन्द्र पराजुलीले निर्वाचित जनप्रतिनिधिहरु नै आफू निर्वाचित क्षेत्रमा दलका झण्डा नै बोकेर उम्मेदवारका लागि मत माग्दै हिड्ने गरेको पाइएको बताए ।
कार्यक्रममा अर्का पत्रकार बोमलाल गिरीले निर्वाचन आचार संहितामा तोकिएका भन्दा ठूला ठूला झण्डा, प्रचार सामग्री, ध्वनी प्रदुर्षण हुने गरी माइकिङ गर्दै हिडेको प्रष्ट देखिएको उल्लेख गर्दै कारवाही भए नभएको जिज्ञासा राखेका थिए ।
पत्रकारहरुले राखेको जिज्ञासामा जवाफ दिंदै नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्वाचन आचारसंहिता पालना भए नभएको सबै पक्षको अनुगमन भईरहेको दावी गरे । उनले भने – तपाईहरु (पत्रकार) ले पनि खबरदारी गर्नु पर्छ । कही कतै त्यस्तो भए हामीलाई जानकारी गराउनु होला । हामीले पनि अनुगमन गरिरहेका छौं । हामीले अनुगमनका क्रममा भेट्दा सम्झाइ बुझाइ पुन यस्तो नगर्ने सर्तमा छाड्ने गरेका छौं ।
त्यसैगरी कार्यक्रममा नवलपुरका मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले जिल्लामा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन भएको लिखित उजुरी एउटा मात्रै परेको जानकारी गराए । उनले भने – मौखिक रुपमा केही उजुरी आएका छन् । जनप्रतिनिधि र उम्मेदवारहरुले नै निर्वाचन आचारसंहिता पालना नगरेको गुनासो बढी छ । पत्रकारले मात्र होइन, सबैले निर्वाचन आचार संहिता पालना गर्नु पर्छ ।
उनका अनुसार आचारसंहिता उल्लंघन भएका गुनासो आए पनि उजुरी खासै परेको छैन ।
पत्रकारहरुको व्यापाक गुनासो पछि उनले अब कडाइका साथ निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमन गरिने बताए । हरेक जिल्लामा निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्नका लागि छुट्टै अनुगमन समिति समेत बनेको हुन्छ ।
त्यसैगरी कार्यक्रममा होली (फागुपूर्णिमा) अर्थात फागुन १९ गतेलाई लक्षित गरी होलीको टिर्सटमा निर्वाचन चिन्ह अंकित टिर्सन नवलपुरको बजारमा आएको जानकारी आफूहरुले पाएको बताउँदै नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले फागुपूर्णिमाको दिन निर्वाचन चिन्ह अंकित टिर्सट लगाइन नपाएने बताए ।
उनले भने – तराईमा फागु पूर्णिमा फागुन १९ गते परेको छ । त्यो दिन मौन अवधि हो । मौन अवधिमा कुनै पनि निर्वाचन चिन्ह वा चुनावी प्रचारप्रसार हुने झल्कने कुनै पनि चिज प्रदर्शन गर्न लगाउन पाइदैन त्यसैले त्यो दिन निर्वाचिन चिन्ह अंकित होली टिर्सट लगाएको पाइए निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानिने र सोही अनुसार कारवाही हुने छ ।
यसैबीच कार्यक्रममा मतदानको दिन र मतगणनाको बेला पत्रकारहरुलाई नवलपुरमा सहज रुपमा समाचार संकलनको वातावरण कसरी मिलाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।