‘चपली हाइट ३’ गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा
आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को ‘चारानाको मसला’ बोलको गीतको छायांकन गरिएको छ । योसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौँको ठमेलस्थित एक क्लबमा खिचिएको गीतमा फिल्मका कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड गरिएको छ ।
गीतमा सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको आवाज रहेको छ । प्रदीप लामाले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । गीत छायांकनका केही तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा अभिनेत्री द्वय स्वस्तिमा र सुपुष्पालाई बोल्ड रुपमा देख्न सकिन्छ । यो गीत चाँडै सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए ।
बक्सअफिसमा ‘प्रेमगीत ३’ सँग भिड्न लागेको ‘चपली हाइट ३’ मा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुनको दाबी छ । यो फिल्मका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । नाम नै ब्रान्ड बनिसकेका ‘चपली हाइट’ को तेस्रो श्रृंंखलामा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । अर्पण थापा र प्रतिक श्रेष्ठको पनि फिल्ममा अभिनय छ ।
.jpg)
फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो । यो फिल्म बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।