कांग्रेस गण्डकीको सभापतिमा पँच आकांक्षी, इतर पक्षबाट चार जना


 



नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

 




प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् भने थप एक जना पनि आकांक्षी देखिएका छन्।

 

कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गरिनसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा पनि प्रदेश सभापतिका आकांक्षी रहेका हुनुहुन्छ ।

 

त्यसैगरी आधिकारिक घोषणा नगरे पनि नवलपुरका महेन्द्रध्वज जिसी पनि आकांक्षी हुन् । उनले पौडेल समूहबाट सर्वसम्मत आफ्नो पक्षमा नाम जुटाउने प्रयासमा जुटेका छन् ।

उनी यस अघि संयुक्त नवलपरासी जिल्ला हुँदाका जिल्ला सभापति हुन्।

 

 

आकांक्षीमध्ये उम्मेदवारी घोषणा गरेका शर्माको पल्ला भारी हुने अनुमान छ । उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनेका थिए ।

 

२०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उहाँ हाल ७५ वर्षका भए । यद्यपि उहाँले सबै नेताको आफूलाई आशिर्वाद रहेको पनि दाबी गरे।

 

कास्कीबाटै उम्मेदवारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहका हुन् । विद्यार्थी कालदेखि राजनीति सुरु गरेका उनी बौद्धिक नेताका रूपमा परिचित छन् । तर, उनी सांगठनिक रूपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन् ।

 

गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेदवार बने पनि पराजित भएका थिए । तर, अहिले हुने निर्वाचनमा उहाँको स्थिति पनि बलियो नै देखिन्छ ।

तनहुँका रघुनाथ पौडेल रामचन्द्र पौडेल पक्षधर हुन । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन्।

उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइरालालगायतको आशिर्वाद रहेको भन्दै सभापतिमा आफूले जित्ने दाबी गर्दै आएका छन् ।

 

विष्णु लामिछाने प्रदेश महामन्त्रीका उम्मेदवार, जिसी प्रदेश सभापतिको आकांक्षी

 

कास्कीका यज्ञबहादुर थापाले पनि सभापति लड्ने तयारी गरेका छन्।

 

उनी पनि वरिष्ठ नेता पौडेल पक्षधर हुन् । कास्की सभापति भएर काम गरिसकेका उनी कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशी कांग्रेसका केन्द्रीय सदस्यसँगै तीन पटक पर्वतको पार्टी सभापति भएर काम गरी सकेका छन् । उनले संस्थापन देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका छन् ।

 

कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । व्यक्ति भन्दा पनि पार्टीलाई बलियो पानुपर्ने शुभेच्छुकहरूको शुभेच्छा छ ।

कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेशन र प्रदेश प्रतिनिधि गरी झण्डै २ हजार जनाले मतदान गर्नेछन् ।

 

 



सम्बन्धित
Loading...