भारतीय बजेट सार्वजनिकः नेपाललाई दिने अनुदानमा कतौटी

भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।
बजेटमा उल्लेख गरिए अनुसार भारतले यस बर्ष नेपाललाई दिने अनुदानमा कतौटी गरेको छ ।
अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड छुट्याएकोमा यस वित्तीय वर्षका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको बजेटमा उल्लेख छ । यस वर्ष भारतले सबैभन्दा धेरै भुटानलाई २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ दिने भएको छ ।
सार्वजनिक गरिएका योजना तथा कार्यक्रमबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने अर्थमन्त्री सितारमणको दाबी छ ।
आउँदा दिनमा अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भारत सरकारको लक्ष्य छ । बजेटमा भौतिक संरचना निर्माणमा जोड दिइएको छ ।
भारतमा गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्गलगायतको विकास र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक वर्षमा थप ८० लाख घर बनाइने उल्लेख छ । यस्ता घर ग्रामीण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिनेछन् ।
भारतको केन्द्रीय बैंकले सन् २०२२र२३ मा डिजिटल मुद्रा ल्याउने बजेटमा उल्लेख छ । त्यस्तै किसानलाई खेतीमा सघाउन ड्रोन प्रयोग गर्ने अर्थमन्त्री सितारमणले घोषणा गरेका थिए ।
