वैदेशिक रोजगारी ठगी धन्दाः अब प्रहरीलाई उजुरी लिनेदेखि पक्राउ गर्नेसम्म अधिकार




वैदेशिक रोजगारमा हुने अनियमितता र ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।

 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली परिचालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।




उनका अनुसार मंगलबार बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

 

भिजिट भिसामा मानिसहरू पठाएर खाडी लगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । प्रहरीको टोलीले यस विषयलाई समेत निगरानी गर्ने जनाइएको छ ।

 

प्रहरी टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्ने सम्मको अधिकार दिइएको छ । अहिले टोली सादा पोसाकमा रहेको र आवश्यकता अनुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।

 

वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिन सक्ने व्यवस्था छ । ऐन अनुसार गृह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्यूरोबाट प्रहरी टोली पठाइएको हो ।



सम्बन्धित
Loading...