साउदी राजकुमार नेपालमा, भोलि द्विपक्षीय वार्ता




साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज साेमवार बेलुका काठमाण्डाै आइपुग्नुभएको छ ।

 

निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेकाे साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

 




 

भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भोलि मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्याे सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो ।

झन्डै चार लाख नेपालीले त्यहाँ रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेश मन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज पनि आयोजना गर्नुहुनेछ । भोलि दिउँसाे उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।

 



सम्बन्धित
Loading...