नवलपुरमा बस र ट्रक ठक्कर खाँदा श्रीमतीको निधन, श्रीमान सहित ३ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा आज विहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको निधन भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार आज विहान पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा काठमाडौंबाट बुटवल आउँदै गरेको लु १ ख ४३१९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा १ जनाको निधन भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी लु १ ख ४३१९ नम्बर बसमा सवार रुपन्देही जिल्लाको खैरेनी सुर्यापुरा गाउँपालिका ३ निवासी ३७ बर्षीया मायादेवी पाण्डेको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते पाण्डेको नयां मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुर्घटनामा परी पाण्डेका श्रीमान ४२ बर्षीय मणिराम पाण्डे गम्भीर घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
त्यसैगरी दुर्घटनामा परी बस चालकः जिल्ला कपिलबस्तु तौलीहवा बाडगंगा नगरपालिका २ निवासी ३६ बर्षीय टिका राना र ट्रक चालक रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका १ निवासी २७ बर्षीय मोहन थापा गम्भीर घाइते भएका छन् ।
उनीहरुको दलदलेको देवचुली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।