श्रममन्त्री श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री अवारबीच भेटवार्ता




नेपालीलाई युएईमा ल्याएर अलपत्र पार्ने जोकोहीलाई पनि युएईको कानुनअनुसार कडा कारबाही गरिने

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आएका छन् । युएई आएसँगै उनले यहाँका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारसँग भेटवार्ता गरेका छन् ।

 




नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठकमा भाग लिन सोमबार मन्त्री श्रेष्ठ युएई आएका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए ।

 

मंगलबार युएईको राजधानी अबुधाबीमा आयोजना गरिएको नेपाल–युएई संयुक्त समितिको बैठकको उद्घाटन हुनुपूर्व मन्त्री श्रेष्ठले समकक्षी युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारसँग भेट गरेका हुन्  ।

 

भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम समझदारी कार्यान्वयनबारे समीक्षा भएको र त्यसलाई कसरी कार्यान्वयन गर्दै जाने भन्ने विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले नयाँ पत्रिकालाई जानकारी दिए ।

 

नेपालको तर्फबाट मन्त्री श्रेष्ठले भिजिट भिसामा अलपत्र परेका नेपालीको समस्या समाधानका लागि पहल गरिदिन समकक्षी मन्त्री अल आवरसँग अनुरोध गरेका थिए ।

 

भिजिट भिसामा आएर ओभर स्टे जरिवाना भएर नेपाल फर्कन नपाएका नेपालीलाई आम माफी दिएर नेपाल फर्काउन पनि मन्त्री श्रेष्ठले अनुरोध गरेको प्रवक्ता भुसालले बताए ।

 

जवाफमा युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारले नेपालीलाई युएईमा ल्याएर अलपत्र पार्ने जोकोहीलाई पनि युएईको कानुनअनुसार कडा कारबाही गर्ने प्रतिबद्धता गरेका थिए ।

 

नेपालबाट दक्ष कामदार युएई ल्याउने विषयमा पनि छलफल भएको भुसालले  बताए । दक्ष कामदार उत्पादनका लागि नेपालमा तालिम केन्द्रहरू स्थापना गरेर कामदारको दक्षताअनुसार काममा ल्याउन पहल गर्ने प्रतिबद्धता युएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारले गरेका थिए ।

 

नर्स, इन्जिनियर, डाक्टरजस्ता प्राविधिक कामदारहरूको हकमा नेपाल र युएई दुवै देशमा परीक्षा दिनुपर्ने झन्झटिलो अवस्थाको समाधानका लागि अध्ययन गरी दोहोरो परीक्षा प्रणाली हटाएर समाधान गर्ने समझदारी भएको  भुसालले बताए ।

 

श्रममन्त्री श्रेष्ठले युएईका मानव संसाधन मन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको र जवाफमा मन्त्री अवारले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी दिएका थिए ।

 

नेपाल–युएई संयुक्त कार्यसमितिको बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालको टोलीमा सहभागी रहेका थिए  ।

 

उक्त बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा छलफल भएको थियो ।

 

मन्त्री श्रेष्ठले मंगलबार साँझ नेपाली राजदूतावास अबुधाबीले आयोजना गरेको नेपाली समुदायसँगको अन्तर्क्रियात्मक भेटघाट गरेका थिए ।

 

युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले युएईमा रहेका नेपालीका समस्याहरू, भिजिट भिसा, दाेहोरो श्रम सम्झौतालगायतका समस्या राखेका थिए । जवाफमा मन्त्रीले समस्या समाधानका लागि  विभिन्न अभियानमार्फत पहल गर्ने बताएका थिए ।



सम्बन्धित
Loading...