स्वावलम्वन समूह दु:खकाे सहारा बन्दै


राम अवतार चाैधरी
कपिलवस्तु,



कपिलवस्तुमा स्वावलम्वन समूहकाे साधारणसभा तथा हाेली पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । किर्डाक नेपालकाे समन्वयमा शिवराज नगरपालिका-१, शिवपुरमा सरस्वती र नव दुर्गा स्वावलम्वन समूहको संयुक्तमा कार्यक्रम गरिएको जनाइएको छ ।

शिवराज नगर उपप्रमुख शिव कुमारी थारुले किर्डाक नेपालले यस क्षेत्रमा उल्लेखनीय याेगदान गरेकाे प्रशंसा गरिन् । समुदाय स्तरमा जनचेतना लगायत आम नागरिककाे आर्थिकसँगै जीवन स्तर उकास्न मद्दत पुगेकाे उनले बताइन् ।




शिक्षालाई विशेष प्राथमिकतामा राखी स्थानीयकाे मागलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएकोले पछिल्लो समय निकै प्रभावकारी भएकाे उपप्रमुख थारुले जिकिर गरिन् । उत्पादनमुखि क्रियाकलापमा महिलालाई सक्रिय पार्दै बचत गर्ने बानीमा समेत परिवर्तन ल्याउन यस कार्यक्रमले याेगदान पुर्‍याएकाे उनले जनाइन् । साथै हाेली पर्वले सात रंग जस्तै परिवारमा सद्भाव कायम गर्न सकाेस भनी शुभकामना समेत थारुले व्यक्त गरिन् । 

यसैबीच कार्डाक नेपालका सामुदायिक विकास अधिकृत बिनाेद केवटले महिलालाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको बताए । जीवनयापन सहज बनाउन बाख्रा पालन, तरकारी खेती, सिलाई कटाई, ब्युटिसियन लगायत उत्पादनमुलक कार्यक्रम ल्याइ आत्मानिरभर गराउनकाे लागि विभिन्न याेजनालाई अगाडि सारिएको उनले जनाए ।

त्यसैगरी किर्डाक नेपालकी क्षमता अभिवृद्धि सहजकर्ता इन्दु थारुले किशोरकिशोरीहरुकाे क्षमता विकास गर्न आफू लगायत आफ्नो संस्थाले किशोरकिशोरीहरुकाे समस्यालाई मध्यनजर गर्दै कार्यक्रम चलाएकाे जानकारी दिइन् ।

किर्डाक नेपालले यस ग्रामीण भेगलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएकोमा धन्यवाद दिँदै आफ्नो जीवनस्तर उकासिएकाे महसुस भएकाे पुष्पा खड्काले जानकारी दिइन् । समूहका सदस्यहरू मिली मासिक एक सय रुपैयाँ जम्मा गरि घुम्ती काेष सञ्चालन गरिएको उनले बताइन् । जसले एक अर्काकाे दु:खकाे सहारा बनेकाे समेत खड्काले दावी गरिन् ।



सम्बन्धित
Loading...