उत्तर कोरियाले दक्षिण कोरियालाई चेतावनी दिँदै भन्यो, ‘परमाणु हमला गरिदिन्छौँ’

दक्षिण कोरियाले आफूमाथि हमला गरे आफूहरुले परमाणु हमला गरिदिने उत्तर कोरियाले चेतावनी दिएको छ ।
उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो–जोङको तर्फबाट यो बयान आएको हो ।
केहि दिन अघि दक्षिण कोरियाका रक्षामन्त्रीले उनको सेना उत्तर कोरियामा कुनै पनि लक्ष्यमा हमला गर्न सक्षम भएको बताएका थिए ।
दुई देशबीचको यो बयानबाजी त्यतिबेला सार्वजनिक भएको हो जब दुई देशबीचको सम्बन्ध असाध्यै तनावपूर्ण स्थितिमा छ ।
करिब ६ महिनाको मौनतापछि किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो खालको धम्की दिएको यो दोस्रो पटक हो ।
उनले भनिन्, ‘दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियमाथि हमला गर्ने कुरा गर्दै एउटा ठूलो गल्ती गरेका छन् । यदि दक्षिण कोरियाले यस्तो गरे उत्तर कोरियाले यसको जवाफ परमाणु हमलामार्फत् दिनेछ ।’
यद्यपि, किम यो–जोङले उत्तर कोरिया युद्ध नचाहने बताउँदै आफूहरुले हमलाको सुरुवात नगर्ने स्पष्ट पारेकी छिन् ।