हावाहुरीले चितवनमा ठूला क्षति, ३ जनाको निधन, ठाउँठाउँमा बाटो अवरुद्ध, कयौं पोल ढल्दा विद्युत अवरुद्ध


 



चितवन । चितवनमा आज साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ ।

चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ ।
उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

 




आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।

हावाहुरीले ठाउँठाउँमा रुख ढलाएको छ । जसले गर्दा चितवनमा ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

कयौं विजुलीको पोल ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

चितवनमा शुक्रबार बेलुकी आएको हावाहुरीसहितको वर्षाका कारण थुप्रै ठाउँमा रुख ढलेर सडक अवरुद्ध बनेको छ ।

प्रहरी तालिम केन्द्रको गेटअगाडि ना ६ ख ३२३७ नम्बरको ट्रक सालको रुखले च्यापिएको छ । यस्तै, बसेनीमा ना १ ज ६१४० नम्बरको रिङरोड चल्ने म्याजिकमाथि पनि सालको रुख बज्रिएको समाचार छ ।

यस्तै, भरतपुरको बाइपास रोड पूर्णरुपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासहित स्थानीयले ढलेको रुख पन्छाएर बाटो खुलाउने प्रयास गरिरहेको छ । हावाहुरीले बिजुलीको पोलसमेत लडाएको हुँदा यस क्षेत्रमा विद्युतसमेत अवरुद्ध भएको छ ।

यस्तै, हावाहुरीले सिनर्जी एफएमको टावरसमेत ढलाएको छ ।

 

तस्वीरहरू सामाजिक सञ्जालबाट 



सम्बन्धित
Loading...