विद्युत अवरुद्ध हुँदा चितवन प्रशासनको सेवा प्रभावित

भरतपुर । विद्युत अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालय चितवनको सेवा प्रभावित भएको छ ।
शुक्रबार बेलुकी आएको हावाहुरीले विजुलीका पोल ढलाएपछि विद्युत प्राधिकरणले अहिले मर्मतको काम गरिरहेको छ ।
मर्मतका क्रममा विद्युत सटडाउन भएपछि सेवा लिन कार्यालय पुगेका सेवाग्राही मारमा परेका हुन् । प्रशासन कार्यालयमा विद्युतको वैकल्पिक उपाय नखोजिँदा सेवाग्राहीले दुःख पाउनु परेका एक सेवाग्राहीले बताए ।
परिचय पत्र बनाउन पुगेका सेवाग्राहीहरु चार घण्टादेखि लाइनमा बसिरहेका छन् ।
चितवनका सिडिओ अस्मान तामाङले मर्मतका लागि विद्युत सटडाउन भएकाले केहि समयको लागि सेवा प्रभावित भएको बताए । करिब एक घण्टापछि लाइन आउने सूचना पाएको भन्दै उनले सेवाग्राहीलाई धेर्य गर्न आग्रह गरे।