घुमाउन लैजाने बाहानामा बालिका बलात्कार गर्ने युवक थुनामा

१७ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका भरतपुर–१० का एक युवालाई चितवन अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
न्यायाधीश अवन मैनाली भट्टराईको इजलासले सोमबार उक्त आदेश गरेको हो।
गुल्मी घर भएकी १७ वर्षीया बालिका यहाँस्थित आरोपितले सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्दै थिइन्।
आरोपित युवकले पुस र वैशाख महिनामा बाहिर घुम्न जाने बहानामा पटकपटक बलात्कार गरेको भनी पीडित बालिकाले वैशाख १९ गते चितवन प्रहरीमा उजुरी दिएकी थिइन्।
गत पुस अन्तिम हप्ता सौराहाको एक होटलमा आफू बलात्कृत भएको र त्यसक्रममा फोटो र भिडियो लिएका आरोपितले आफूले भनेअनुसार नभए फोटो र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भनी धम्की दिएको बालिकाले बताएकी छन्।
गत वैशाख १९ गते भरतपुर–१६ स्थित एक होटलमा लगी जबर्जस्ती गरेपछि युवतीले यो कुरा सार्वजनिक गरिन्। आरोपित स्वास्थ्यका कारण देखाई भरतपुर अस्पतालमा उपचार गरी बसेका थिए।