फागुन १२ गतेदेखि दलदलेमा पाँचौ देवचुली महोत्सव
नवलपुर । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा पाँचौं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीको दलदलेमा सञ्चालन हुने भएको छ ।
स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ देवचुलीले जनाएको छ ।
मंगलबार दलदलेस्थित उद्योग वाणिज्य संघको परिसरमा आयोजित पत्रकार सम्मेलनमा संघका संथापक अध्यक्ष धर्मदत्त बस्यालले महोत्सवका बारे जानकारी गराउँदै स्थानीय उत्पादन तथा सेवाहरू प्रवद्र्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने मुख्य लक्ष्य रहेको बताए ।
देवचुली उद्योग बाणिज्य संघ अध्यक्ष सूर्यप्रसाद दवाडीका अनुसार व्यापारिक, कृर्षी पर्यटन, शिक्षा, स्वास्थ गरि १५० वटा स्टल रहने छन । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बालउद्यान, खेलकुद प्रतियोगिता, बिबिध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहने छन् ।
महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने र १ लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवलोकन गर्नै अनुमान उद्योग वाणिज्य संघको छ ।
महोत्सवमा बालमैत्री सामग्री प्रदर्शन, संग्राहलय प्रदर्शनी, विज्ञान कला र प्रदर्शनी, जातीय पहिचान झल्कने घर सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी लगायतका आकर्षणहरू रहने देवचुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रेशम सापकोटाले बताए ।
महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था, व्यवसायी तथा स्थानीय समुदायसँग सहकार्य भइरहेको आयोजकले जनाएको छ । यस महोत्सवले व्यापार, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिएको उधोग बाणिज्य संघ देवचुलीका महासचिव विनोद सिलवालले बताए ।