कावासोती ४ का २५ घर भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण
रामकुमार श्रेष्ठ –
नवलपुर । कावासोतीमा भूमिहिन दलित भूमिहिन सुकुम्वासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरू गरेको छ ।
बुधबार पहिलो दिन कावासोती ४ का १७ जना भूमिहिन दलित र ८ जना भूमिहिन सुकुम्बासी गरी २५ जनालाई जग्गाधनि लालपूर्जा वितरण गरिएको कावासोती ४ का वडाध्यक्ष नारायाण लोहनीले बताए ।
कावासोती नगरपालिका भित्र ५ हजार बढी भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी र अवस्थित बसोबासीहरुले लालपूर्जा पाउन बाँकी रहेका छन् भने नवलपुर जिल्लामा मात्रै करिब ३५ हजार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले फारम भरिसकेका छन्।
आज कावासोती ४ हसौरामा भएको लालपूर्जा वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद तिलक महत, नेपाली काँग्रेसका गण्डकी प्रदेश महामन्त्री एवम् पूर्व प्रदेश सभा सदस्य विष्णु लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, भूमि आयोग नवलपुरका संयोजक तारापति खरेल, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल लगायतले मन्तव्य राखेका थिए ।
नारायण लोहोनीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
कावासोती नगरपालिका भित्र हालसम्म भूमिहिन दलित ६९७, भूमिहिन सुकुम्बासी १,२४० र अव्यवस्थित बसोबासी ५,५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।