सर्लाही घटनाको छानबिन हुन्छ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।
पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरे । मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’
गृहमन्त्री थापाले विप्लवसँग सरकारले वार्ताको प्रयास जारी राखेको जानकारी दिएका छन्। उनले भने, ‘विप्लव समस्या राजनीतिक ढंगबाट हल गर्ने कोसिस सरकारबाट भइरहेको छ। विगतमा पनि कोसिस भएका छन्। उनीहरूले वार्ता गर्न चाहेजस्तो लागेन। र पनि प्रयास जारी छ।’
गाेलीबाट हैन संवादबाट निकास खोज
सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्। संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले समिति बैठकमै भक्कानिँदै , ‘आज नेपालीको छोरो मरेको छ, यसरी मार्नु ठिक होइन संवादबाट समस्या समाधन गर्नुपर्छ, १० वर्षे ‘जनयुद्ध’को घाउ आलै छ, देश पूर्णरूपमा शान्त बनेको छैन’ उनले भनिन्, ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन, सानो झिल्कोले ठूलो रूप लिन सक्छ।’
उनले गाेलीबाट हैन संवादबाट निकास दिन आग्रह गरिन्। गौतमका पति यदु गौतमलाई तत्कालीन नेकपा एमालेका रुकुम सचिव तथा प्रतिनिधिसभाका सदस्य रहेकै बेला माओवादी विद्राेहीले २०५५ साल फागुन २१ नियन्त्रणमा लिएर हत्या गरेका थिए।