म्हः पूजा अर्थात आत्मपूजाको महत्व
यो नेवार समुदायले मनाउने पर्व मध्यको एक महत्वपूर्ण पर्व हो । नेपाल सम्वतको पहिलो दिन अर्थात नेपाल सम्वत अनुसारको पहिलो दिन नयाँ बर्षमा नेवा समुदायले म्ह पूजा गर्ने गर्दछन् । यो यम पञ्चकको चौथो दिन अर्थात गोबद्र्धन पूजाको दिन पर्दछ ।
नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । नेवार समुदायले म्हः पूर्जा बर्ष भरीको आत्मशुद्धि गर्न गर्ने गर्देछन् । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।
किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ ।
शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई धार्मिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक÷एकवटा ६ कोठे मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि तेलमाथि चामल आदिको पिठोले रेखी हाली क्रमशः मखमल फूललाई छुट्याएर (च्यातेर) बनाएको रंगीविरंगी फूल, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ । यो दिन मानो वा पाथीमा रंगीविरंगी फूल, लावा, कालो भटमास, मासको गेडा, धान आदि ६ पटक अर्थात ६ मुठी राखेर फूलले नुआउने अर्थात टाउकोबाट शरिर भरी खनाउने प्रचलन छ। त्यस्तै जजंगा (काँचो धागो र धानका लावाले बनाइएको माला) पनि ६ सराको लगाउने गर्दछन् ।
यो दिन म्हःपूजा गर्दा आत्म शुद्धि हुने र शरिरमा नयाँ उर्जा प्राप्त हुने, रोगब्याधि नलाग्ने मान्यता रहेको छ। यो दिन घरमा रहेका महिला मुलीले घरका अन्य परिवारका सदस्यलाई पूजा गर्न सघाउने गर्दछ । उक्त दिन यो प्रायः साँझको समयमा म्हः पूजा गर्ने प्रचलन रहेको छ। नेवार समुदायले यसलाई विशेष महत्वको साथ मनाउने गर्दछन् ।
उक्त दिन मिठामिठा परिकार खानेर रमाइलो गर्ने प्रचलन पनि रहेको छ। भाईटिकाको अघिल्लो दिन घर जम्मा भएका चेलीबेटी तथा आफन्त सबै एकै ठाउँमा भेला भएर म्हः पूजा गर्ने प्रचलन रहेको छ।