खै राष्ट्रको अस्मिता ?

119








रातारात उजाड भो मुलुक यो रोगी बने सन्तति,
बाच्नै मस्किल भो निराश हुन गै अन्योलता छट्पटी ।
ज्ञानी बुद्ध सती विशाल दिलको आदर्श भाग्यो कता,
जाने हो कि अझै अधोगतितिरै खै राष्ट्रको अस्मिता ।
।१।
सारा देश अपाङ्ग भो अब यहाँ उठ्नै नसक्ने गरी,
धर्ती मूल्य अझै बजार महगी आकाश चुम्नेगरी ।
चिन्ताले भरिपूर्ण यी जनहरु आँखा रूझेका चिसा,
नेपालीपन छैन आज जनमा खै राष्ट्रको अस्मिता ।
।२।
मेट्दैछन् इतिहास नै मुलुकको कस्तो हुने देश यो,
सत्ताको सपना छ यो मनपरी सत्मार्गमा हिड्छ को ।
आफ्नै राग अलाप्दछन् जनहरु लुट्ने र धुत्ने सदा,
सारा देश छियाछिया हुन गयो खै राष्ट्रको अस्मिता ।
।३।
ज्यादै दुर्गति भो विकार भरियो सस्तो भयो रक्त यो,
गोला वारूद ती छरेर जन यी मार्नै सके गर्व भो ।
चोक्टामा जननी विभाजित गरी जाने कता हो कता,
कस्ले मर्म बुझे धरोहर गुमे खै राष्ट्रको अस्मिता ।
।४।
मीठा शब्द नयाँ सुनिन्छ सबका त्यागी बनेझै गरी,
खाए देश चुसे मिलेर सब ती उठ्नै नसक्ने गरी ।
आमा घायल यी उजाड तनकी सन्तान भोकै हुँदा,
आमाको गरिमा लुटे सब मिली खै राष्ट्रको अस्मिता ।
।५।






You might also like
Loading...