कलाकारको कस्तो भयो तिहार ?
काठमाडौँ — यस वर्षको तिहार सकिएको छ । देश विदेशमा रहेका नेपालीले आ-आफ्नै चलन अनुसार तिहार मनाए । यसै सन्दर्भमा नेपाली चर्चित कलाकाहरुको तिहार कस्तो रह्यो त ?

फेरी लाउँदै हिँडेँ
मनोज गजुरेल, अभिनेता
लक्ष्मीपूजाको दिन सिस्नुपानीको देउसीमै व्यस्त भएँ । भोलिपल्ट मात्र झापा ओर्लिएँ । काकाको घरमा भाइटीका मनाएँ । तामसी भोजन छाडेको तीन/चार वर्ष भइसक्यो तर तिहारको बेला, चिल्लोचाप्लो खान्कीबाट कसले रोक्नु ? त्यस हिसाबले यसपालिको तिहार ग्यास्ट्रिकपूर्ण भयो ।
म झापाको सुरुंगा आइपुग्दा सिस्नुपानीको देउसीको भिडियो छाइसकेको रहेछ यता पनि । यसपालि सी चिनफिङ र फेरी लाउने जोगी बनेको थिएँ । शुभचिन्तकहरूले सी चिनफिङ बन्न आग्रह गरे । मेकअपको कारण सम्भव भएन तर जोगीचाहिँ बनेँ । हातैले शंख बजाउन आउँछ मलाई । राति व्यंग्यात्मक मन्त्र भन्दै केही घरमा फेरी लाएँ । मान्छेहरू साँच्चिकै दान दिन आइपुगे । कति हाँस्नु ।
आफ्नो थातथलो आएपछि केही सामाजिक दायित्वले थिची नै हाल्छ । टोलछिमेकका भाइबहिनीसित सामाजिक उद्देश्यसहित देउसी खेलें । पर्यटन प्रवर्द्धनको ध्येयले हल्दीबारीमा कार्यक्रम थियो, भाइटीकाको भोलिपल्ट सहभागी भएर आफ्नो प्रस्तुति दिएँ । फुर्सदको बेला मोबाइलमै वानमेन कलब्रेक खेलें । मलाई आउने भनेकै जुटपत्ती र कलब्रेक हो । जुटपत्ती खेल्न साथी थिएनन् । वानमेन सो दिएँ मोबाइलमै । अर्को महत्त्वपूर्ण कुराचाहिँ मोबाइलबाटै सद्गुरुको इनर इन्जिनियरिङ ध्यान कोर्स गरें ।
च्याउको सेकुवा खाएँ
दीपाश्री निरौला, निर्देशक
अहिलेसम्म तिहारै लागिरहेको छ । छठसम्म विराटनगरमै हुन्छु । गोबर्द्धन पूजाको दिन काठमाडौंबाट आएकी हुँ । इनरुवा, झापा र काठमाडौंदेखि दिदीबहिनी आउनुभएको छ । भाइहरू दुई जना छन्, यसपालि अरू दुई जना थपिए । एक जना दाइको छोरा, अर्कोचाहिँ फोटोग्राफर किशोर रिजाल । ‘राष्ट्रिय दिदीसँग टीका लाउँछु’ भन्दै घरमै आउनुभयो । यसलाई ठूलो प्रेम र सद्भाव मानेको छु । हाम्रा पर्वहरूको महत्त्व यसैमा त छ नि ।
विराटनगर रंगशाला पछाडि, गहेली टोलमा हाम्रो घर छ । सानो छँदा तिहारबेला साडी लाउन खुब मन लाग्थ्यो । एकपटक लक्ष्मीपूजाको झिलीमिली साँझ एकजना काकीको साडी मागेर बजार घुम्न गएको थिएँ, पटाकाको आलो साडीमा सल्कियो । काकी रिसाउनुभयो । कमाउन सक्ने भएपछि काकीलाई साडी किनिदिएको याद अहिले पनि आउँछ । फुर्सदको समय तिहारमा प्राय: तास खेल्छु । म्यारिज खेलौं भन्छन् अरू, मलाई फलाँसभन्दा आउँदैन । भेजेटेरियन भएको कारण पनिर र च्याउको सेकुवा खाँदै तास खेलें ।
यसपटक ‘छ माया छपक्कै’ को प्रशंसासहितको पर्व बन्यो तिहार । काठमाडौंमा त अहिले पनि हाउसफुल नै छ । यताका हलमा पनि फिफ्टी पर्सेन्ट अकुपेन्सी छ अझै पनि ।
मदिरा रहित मनाएँ
कुञ्जना घिमिरे, अभिनेत्री
तिहारअघिसम्म त फिल्म ‘सेन्टी भाइरस’ कै सुटिङ सेड्युलले व्यस्त बनायो । डिन्डु र फुर्वा शेर्पासँग मिलेर हामी (धुर्मुस–सुन्तली) ले बनाइरहेको फिल्म हो यो । लक्ष्मीपूजाको दिन घरमा मैले नै दियो बालेर लक्ष्मी भित्र्याउँदै आएकी छु । यसपटक केही ढिला भयो सिस्नुपानीको कार्यक्रमले गर्दा । उहाँ (सीताराम कट्टेल) प्रधानमन्त्री केपी ओलीको नक्कली भूमिकामा हुनुभएको कारण म पनि सँगै गइदिएँ । फर्किंदा अबेर भइसकेको थियो । तैपनि सासू–ससुरा र अरू आफन्त घरमै भएका कारण रंगोलीचाहिँ बनिसकेको रहेछ । मैले बत्ती बालेर लक्ष्मी भित्र्याएँ ।
गोरु तिहारको दिन परिवार सबै मिलेर फिल्म हेर्न गयौं । यसपालि घरमा सेलरोटी भिनाजुले पकाउनुभयो । खानेकुरा बनाउन दिदी पनि सोखिन हुनुहुन्छ । अरू बेला भाइटीका माइती (चापागाउँ) मा हुन्थ्यो । यसपटक भाइलाई घरमै बोलाएँ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रेमपूर्ण बनाउने तिहार मलाई एकदमै मनपर्ने चाड हो । टीका लाउँदै गर्दा मनमा एक प्रकारको भावुकता छाउँछ ।
परिवारमा कोही पनि पिउने छैनन् । प्राय: हाम्रो तिहार मदिरारहित नै हुन्छ । पारिवारिक खेल (तास) भने हाम्रो घर (कुसुन्ती) मा पनि चल्यो तर मैले चाहिँ समय दिनै सकिनँ ।
म्ह:पूजाको भिन्नै माला
दीपेन्द्र बनेपाली, चित्रकार
यस पटकको तिहार कलामय भयो । लक्ष्मीपूजा र गोबर्द्धन पूजाको दिन हामीले ठिमीको दुई पोखरीमा ‘जीवन्त मध्यपुर’ शीर्षकमा ओपन चित्र प्रदर्शनी राखेका थियौं । सम्पदा केन्द्रित रहेर हरेक शनिबार गर्दै आएको स्थलगत चित्रकला कार्यशालाबाट निर्मित ठिमीकै चित्रलाई शंखधर एसोसिएसन अफ फाइन आर्टले प्रदर्शनीमा ल्याएको थियो ।
नेवार समुदायको तिहार खासगरी ‘म्ह:पूजा’ का लागि अर्थपूर्ण मानिन्छ । यो आफूले आफैंलाई गर्ने पूजा हो । यसको सुरुवात भने अग्रजबाट हुनुपर्छ । मलाई आमा (रापती बनेपाली) ले पूजा गर्नुभयो र त्यसपछि आफैंले गरें, पूजाका क्रममा आमाले घाँटीमा कोखा बाँधिदिनुभयो । यो एक प्रकारको धागो हो । कनिका नभएको शुद्ध चामल कपडामा पोको पारी कोखा बनाइएको हुन्छ । म्ह:पूजाको बेला यस्तो लगाइयो भने वर्षभरि लाउने लुगा र खाने अन्नको संकट पर्दैन भन्ने विश्वास गरिन्छ ।
पूजाको अर्को रमाइलो पक्ष के भने फूल, कटुस, भटमास, धान, दाललगायत सामग्रीलाई मानामा राखेर शिरमा खन्याउने चलन पनि छ । पूजापछि खानपिनको अर्को रमाइलो चल्छ नेवार समुदायमा । खासगरी माछा र अन्डाको सगुन राख्ने चलन छ । मासुको अनेक परिकार बनाएर खाइन्छ । रक्सी त टुट्ने कुरै भएन । कान्तिपुरबाट