कावासोती जग्गा काण्डः बुझाएन छानविन समितिले प्रतिवेदन




कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ र १४ को बीचमा पर्ने सरकारी जग्गा व्यक्तिले लालपूर्जा निकाल्न लागेपछि बनेको छानविन समितिले अझै प्रतिवेदन बुझाएको छैन् ।

 

कावासोती नगरपालिकाले कावासोती ५ का वडा अध्यक्ष हरि वास्तोलाको नेतृत्वमा ७ सदस्यीय छानविन समिति बनाएको थियो ।

 




कावासोती ९ र १४ को साविक अग्यौली २ क कित्ता नं. १ को ४–३–१४ क्षेत्रफलको जग्गामा केही व्यक्तिहरुले आफ्नो भनि लालपूर्जा निकाल्न प्रक्रिया अगाडि बढाउने, जग्गा तारबार गर्ने, टहरा बनाउने जस्ता प्रक्रिया अगाडि बढाएपछि स्थानीयले त्यसको विरोध गरेर संरक्षण गर्दै आएको छ ।

 

कावासोती नगरपालिकाले बनाएको छानविन समितिले दोस्रो पटक थप गरिएको म्याद गत ५ बैशाखमा सकिएको भए पनि छानविन समितिले बनाएको प्रतिवेदन अझै बुझाएका छैनन् ।

 

छानविन समितिका संयोजक हरि बास्तोलाले आफू विरामी भएका कारण प्रतिवेदन बुझाउन केही दिन ढिलो भएको बताएका छन् तथापि यहाँका स्थानीयले भने यो जनप्रतिनिधिको कार्यकाल सकिन लागेकोले प्रतिवेदन नबुझाइ आलटाल गरेर टार्न खोजेको आशंका गरेका छन् ।

 

कावासोती ९ र १४ को सीमानामा पर्ने उक्त जग्गामा अहिले जंग्गा संघर्ष समितिले खेल मैदान, मन्दिर, वृद्धाश्रम निर्माणका साथै वृक्षारोपण लगायतका काम गर्ने भन्दै जंग्गा संरक्षण गर्दै आएको अध्यक्ष टंक लुइटेलले बताए ।

 

कुनै बेला केरुङ्गे खोलाले बगरमा परिणत गरेको यस क्षेत्र अहिले विस्तारै घाँसे मैदानको रुपमा परिणत हुन थालेपछि यहाँ केही स्थानीय मानिसहरुले उक्त जग्गामा आँखा लगाएको थियो ।

 

यसैबीच संघर्ष समितिले यहाँ रहेको पुराना बबई खोला नक्सामा भए अनुसार निकालेर पुरानै स्वरुपमा लैजाने जनाएका छन् । नक्सामा रहेको बबई खोलालाई पुरेर केही स्थानीयले खोला अतिक्रमण गरेका छन् ।

 

भू–माफियाले कब्जा गर्न खोजेको जग्गा सरकारी !

 

कावासोतीको ९० विगाहा जग्गामा हडप्न भूमिया सक्रिय, नगरपालिकाले बनायो छानविन समिति



सम्बन्धित
Loading...