नेविसंघ नवलपुरद्वारा प्याब्सन नवलपुरको कार्यालयमा तालाबन्दी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरका संस्थागत विद्यालयहरुले मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ नवलपुरले बुधबार प्याब्सन नवलपुरको जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
यहाँका निजी विद्यालयहरुले गत बर्षको तुलनामा १० देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गरेको अभिभावकहरुले गुनासो गरेका छन् । नवलपुरका निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ नवलपुरले निजी विद्यालयको शुल्क घटाउन माग गरेका हुन् ।
नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीको नेतृत्वमा गएको टोलीले आज प्याब्सन नवलपुरका कार्यालयमा तालाबन्दी गरिदिएका छन् । नेविसंघले निजी तथा संस्थागत विद्यालयले दिनु पर्ने १० प्रतिशत छात्रवृद्धिको पनि दुरुपयोग गरेको समेत आरोप लगाएको छ ।
त्यसैगरी नेविसंघले विद्यार्थीबाट अनावश्यक शुल्क नलिन, ड्रेस र पुस्तक विद्यार्थीहरुलाई जबरजस्ती विक्री नगर्न र शुल्क निर्धारणलाई पारदर्शी र नियमसंगत गराउन पनि माग गरेको छ । यहाँ रहेका संस्थागत तथा निजी विद्यालयहरुले अभिभावकसँग शुल्क वृद्धिको निर्णय अनुमोदन गरी शुल्क वृद्धि गर्नु पर्नेमा त्यसो नगरेको पाइएको छ ।
कानुनतः कुनै पनि नीजि तथा संस्थागत विद्यालयले शुल्क वृद्धिको निर्णय अभिभावक भेलाबाट अनुमोदन गरी सम्बन्धित पालिकालाई जानकारी गराएर मात्र लागु गर्नु पर्ने हुन्छ । प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले विद्यार्थीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । प्याब्सन अध्यक्ष अधिकारीले नगरपालिका मार्फत यस्ता विषयहरु अनुगमन गर्नु पर्नेमा जोड दिए ।
नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूबाट शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरूले शुल्क पारदर्शी र नियमनमा आधारित निर्धारण गर्नुपर्ने प्रावधानहरू अवज्ञा गरेको देखिन्छा यसरी शुल्क बढाइ विद्यार्थी र अभिभावकहरूलाई आर्थिक शोषण गर्नु पूर्णरूपमा अस्वीकार्य भएको नेविसंघले जनाएको छ ।
मागहरू तत्काल पूरा नगरिए थप आन्दोलनमा नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ ।