दुम्कीबास आसपासमा बाघ देखिएपछि स्थानीय यात्रुदेखि स्थानीय बासिन्दा आतंकित, सतर्क रहन आग्रह

नवलपुर । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो ।

गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताए ।

आफूहरूले रातिको समयमा वन क्षेत्र नजिक हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष जीसीले बताए।

दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।
गएको महिना विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण ज्यान गएको थियो।
